वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझदेखि वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको छ । जिप्रकाले साँझ ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले हिन्दु समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यु आदेश जारी गरिएको जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएका छन् ।
रौतहट जिल्लाको इसनाथ नगरपालिकामा भएको विवादलाई लिएर हिन्दु समाजले वीरगञ्जमा प्रदर्शन गर्दै बजार बन्द गराएको थियो । सोही क्रममा विवाद उत्पन्न भएपछि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुन जाने अवस्था देखिएकाले स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
