इन्द्रेणी समाचारदाता
दाङ । दाङमा यही फागुन १८ गतेदेखि २१ गते सम्म हुन लागेको बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव-२०८० को तयारी तीब्र पारिएको छ । स्थानीय आयोजकको रुपमा रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघले महोत्सवको तयारी तीब्र पारेको हो ।

महोत्सवमा नेपालसहित १३ राष्ट्रका कलाकारहरुले सांस्कृतिक प्रस्तुति देखाउने कार्यक्रम भएकाले यसको भव्य तयारीका लागि २६३ सदस्यीय मूल आयोजक समिति गठन गरी तयारीको कामलाई तीब्र पारिएको मूल आयोजक समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले जानकारी दिए ।सोमवार महोत्सवको बारेमा जिल्लाका सञ्चारकर्मीहरुसँग छलफल गर्दै अध्यक्ष जोशीले बाह्रौं अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सव दाङको लागि गौरवको विषय भएको भन्दै यसलाई सफल पार्न जिल्लादेखि प्रदेश र केन्द्रसम्मका सरोकारवाला निकायहरुसँग छलफल तीब्र पारिएको बताए ।

महोत्सवले दाङको स्थानीय तथा नेपालको मौलिक कला तथा संस्कृतिलाई विश्व समुदाय समक्ष परिचित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै अध्यक्ष जोशीले यसलाई सफल पार्न यहाँका सबै सरोकारवालाहरुले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

छलफल कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव विकास वलीले महोत्सवको उद्देश्य दाङको स्थानीय तथा नेपालको मौलिक तथा संस्कृतिलाई विश्व समुदायसम्म चिनाउनुका साथै दाङसहित नेपालका विभिन्न ठाउँमा उत्पादित स्थानीय उत्पादनलाई पनि विश्व समुदायसम्म परिचित बनाउने उद्देश्य रहेकाले स्थानीय उत्पादनलाई प्रर्दशनीमा राखिने बताए । कार्यक्रममा महोत्सवका प्रचारप्रसार समितिका संयोजक युवराज पोख्रेलले महोत्सवको अहिलेसम्म करिव ४० प्रतिशत पूरा भएको र बाँकी काम तीब्र रुपमा भइरहेको जानकारी दिए ।

एभरेष्ट नेपाल कल्चर ग्रुप काठमाण्डौंको आयोजन तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानीय आयोजनमा चार दिनसम्म लाग्ने महोत्सवमा नेपालसहित भारत, जर्मन, अस्ट्रेलिया, वेल्जियम, बोत्स्वाना, इस्टोनिया, ईजरायल, मलेशिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका तथा दक्षिण कोरियाका करिव ३०० जना राष्ट्रिय तथा अन्तरास्ट्रिय कलाकार सहभागी हुने दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठले बताए ।

महोत्सवको पहिलो दिन फागुन १८ गते जिल्लाका विभिन्न संस्कृति झल्कने झाँकीसहित उद्घाटन हुनेछ । त्यस्तै १९ र २० गते स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ भने महोत्वसको अन्तिम दिन २१ गते नेपालसहित १३ देशका कलाकारहरुले आफ्ना संस्कृतिक प्रस्तुत राख्नेछन् । घोराहीस्थित कृषि सामग्री कम्पनीको मैदानमा हुने महोत्सव अवलोकनका लागि उद्घाटनका दिनवाहेक अन्य दिनमा सामान्य र विशिष्ट गरी दुई किसिमका टिकेटको व्यवस्था गरिएको छ । सामान्य टिकेटको शूल्क १०० रुपैयाँ राखिएको छ भने विशिष्ट टिकेटको शूल्क ५०० रुपैयाँ राखिएको संयोजक जोशीले बताए । महोत्सवमा ज्येष्ठ नागरिक, फरक क्षमता भएकाहरुलाई भने निःशूल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुलाई विशेष छुट दिइएको छ ।

करिव १३ देशका कलाकारहरुलाई व्यवस्थापन गर्दै महोत्सव आयोजना गर्नु आफैमा चुनौतीपूर्ण भएको भन्दै महोत्सवमा लाग्ने आर्थिक खर्चलाई सहयोग पुगोस भन्ने उद्देश्यले अवलोकन टिकेटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सवमा करिव ५० लाख खर्च लाग्ने समेत आयोजकले अनुमान गरेको छ ।

महोत्सवले दाङ जिल्लाको मौलिक परम्परागत कला संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा परिचित गराउनुका साथै यस क्षेत्रको पर्यटन तथा व्यवासायिक क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।