सप्तरी । सप्तरीको राजविराज कारागारमा थुनामा रहेका बन्दी शौचालयमा मृत अवस्थामा फेला परेका छन् । बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देबेन्द्र मण्डल आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
मण्डलको शव कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको कारागारका निमित्त प्रशासक सदानन्द दासले बताए । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए। फैसला हुन बाँकी थियो।
१५ वर्षीया बालिकालाई गत साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए। बालिकालाई घरबाट जबरजस्ती तानेर पाँच सय मिटर पूर्व पोखरीको डिलमा लगेर बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए।
