घोराही दाङको घोराही–१५ झिगौरामा जारी ‘लम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० ’ मा आज शनिबार चर्चित गायिका ज्योती मगर आउने भएकी छन् । उनीसँगै गायक गोपाल नेपाल जिएम, पार्वती चौधरी, डान्सर सलिना थापा लगायत स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने छ । गायिका मगर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो हाउभाउको कारण बढी चर्चित छिन् । ज्योती मगरको पहिरन र हाउभाउले बढी चर्चा पाउँछ । गायक जिएम पनि युवा पुस्ता माझ निकै लोकप्रिय छन् ।

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँघर सम्म व्यवसाय विस्तार ’ भन्ने मुलनाराका साथ एक्सपो सञ्चालन गरिएको हो । दर्शकलाई मनोरञ्जन गराउन प्रत्येक दिन प्रत्यक्ष लाईभ दोहोरी गीत र नृत्य प्रतियोगितासंगै सांस्कृतिक कार्यक्रममा दैनिकजसो राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजक संस्था दाङ चेम्बर अफ कमर्सका अध्यक्ष विकास अग्रवालले जानकारी दिए ।