दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले विश्वमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्न परिवार, विद्यालय र विद्यार्थीको संयुक्त प्रयास आवश्यक पर्ने बताएका छन् ।
घोराही–१५ काठेकोहलस्थित शान्ति निकेतन विद्यालयको २० औं वार्षिकोत्सवको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री खनालले प्रतिष्प्रधी जनशक्ति उत्पादन गर्नुपर्ने र त्यसका लागि संयुक्त प्रयास आवश्यक पर्ने बताएका हुन् ।
मुलुकमा गुणस्तरिय शिक्षाका लागि संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण रहेको भन्दै मन्त्री खनालले विद्यालयहरूले बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित गर्न नहुने बताए ।
कार्यक्रममा प्याव्सनका लुम्बिनी प्रदेशका वरिष्ठ सल्लाहकार महेन्द्र अधिकारीले राज्यले निजी विद्यालयहरुलाई सौतेलो व्यवहार गरिरहेकोमा दुखेसो पोखे । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन, घोराही नगर प्याव्सनका अध्यक्ष बिरेन्द्र चन्द, लोकराज पराजुली, लगायतले शुभकामना व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका निर्देशक खगेश्वर पोख्रेलले स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रिन्सिपल सुनिल गौतम, विद्यार्थीहरु अस्मिता चौधरी, प्रज्ज्वल पौडेल, आशिक हमालले पनि मन्तव्य व्यक्त गरे ।
विद्यालयको २० औं वार्षिकोत्सवको अवसरमा शिक्षकसहित विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।











