काठमाडौं । कैलालीको टीकापुर नगरपालिका १ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेको आरोपमा नगर विकास समितिका तत्कालीन अध्यक्ष जोशीसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अध्यक्षलगायत पदाधिकारीहरूको मिलेमतोमा नक्कली रसिद बनाइ समितिका पदाधिकारी एवं कर्मचारीहरूको संलग्नतामा नगर विकास समितिको प्लट घडेरी आफन्तलगायत संघ संस्थालाई उपलब्ध गराएको पुष्टि भएकाले समितिका तत्कालीन अध्यक्ष जोशीसहित २४९ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष जोसीलाई २ करोड १२ लाख ४० हजार ९४४ रुपैयाँ बिगो र कैद सजाय माग गरिएको अख्तियारले जनाएको छ। नगर विकास समिति तत्कालीन अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मी, तत्कालीन योजना प्रमुखहरू बलबहादुर कडायत,झप्पर सिंह विश्वकर्मा, तत्कालीन सदस्य सचिव अम्बादत्त जोशी, तत्कालीन नापी अधिकृतहरू मानबहादुर चन्द, गणेशबहादुर बम, तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट,समितिका खरीदार धनीराम भण्डारी, सब ओभरसियर नेत्रबहादुर रावल,तत्कालीन फिल्ड सुपरभाइजर देवीलाल घिमिरेलगायत दुई सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।