काठमाडौँ । घरेलु मैदानमा नेपालले क्यानडालाई पराजित गरेको छ । क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल सात रनले विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार जितका लागि दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७ दशमलव ५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रनमा समेटिएको थियो ।
क्यानडाका लागि निकोलस किर्तनले ६८ रनको अर्धसतकीय इनिङ्स खेले भने परगत सिंहले ५०, हर्ष थाकेरले ३२ र ओपनर आरोन जन्सनले २० रन बनाए । अन्य खेलाडीले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
क्यानडालाई हराउन कसिलो बलिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले चार विकेट लिए । ललित राजवंशीले दुई विकेट लिए भने सोमपाल कामी, रिजन ढकाल, कुशल मल्ल र पवर्न सर्राफ एक एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय २४ रन बनाएको थियो ।
