इन्द्रेणी संवाददाता
दाङ । घोराही उपमहानगरपालिकाले आफ्नो ४६ औं स्थापना दिवस मनाएको छ । आज सोमवार घोराहीमा एक भव्य समारोहको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले उपमहानगरपालिकाको समग्र विकासमा सहयोग र योगदान गर्ने विभिन्न व्यक्ति, संघसंस्था, कर्मचारीलगायतलाई सम्मान एवं पुरस्कृत गरेको छ । दिवसको अवसरमा उपमहानगरपालिकाको समग्र विकासमा लेखनीको माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै पाँच जना पत्रकार, नौ जना ज्येष्ट नागरिक, विभिन्न संघसंस्था, विभिन्न टोल विकास संस्था, करदाता, सहकारीकर्मी, शैक्षिक संस्था, सामाजिक संघ संस्था, कर्मचारीलगायतलाई सम्मान गरेको हो ।

कार्यवहाक प्रमुख हुमाकुमारी डिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सबै सम्मानित व्यक्ति एवं संघसंस्थाहरुलाई सम्मानपत्र र खादा लगाएर सम्मान गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री खनालले स्थानीय विकासका लागि स्थानीय उत्पादनलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए । यसका लागि स्थानीय स्तरमै जनसक्ति उत्पादनदेखि स्थानीय स्रोत साधनको अधिक्तम उपयोग गर्नुपर्ने बताए । दाङको स्वास्थ्य लगायत सबै क्षेत्रको विकासका लागि प्रदेश सरकार लागि परेको भन्दै यसमा सबैले आ–आफ्नो क्षेत्रबाट साथ र सहयोग गर्नुपर्ने मन्त्री खनालको भनाइ थियो ।

कार्यक्रममा नेपाली काग्रेसका शंकर डाँगी, माओवादी केन्द्रका विश्व आचार्य, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घोराही उपमहानगरपालिकाका पूर्व कार्यकारी अधिकृत हरिप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीलगायतले शुभकामना व्यक्त गर्दै उपमहानगरपालिकाको उत्तरउत्तोर प्रगतिको कामना गरेका थिए । यो सँगै २०३५ साल माघ १५ गते स्थापना भएको घोराही उपमहानगरपालिका विभिन्न चरण पार गर्दै ४६ वर्षमा प्रवेश गरेको छ ।

पाँच जना पत्रकार सम्मानित
यसैबीच घोराही उपमहानगरपालिकाले आफ्नो ४६ औँ स्थापना दिवसको अवसरमा दाङका पाँच जना पत्रकारहरुलाई सम्मान गरेको छ । उपमहानगरपालिकाले आज सोमवार स्थापना दिवसको अवसरमा आयोजित समारोहमा जिल्लामा क्रियाशील पाँच जना पत्रकारहरु सम्मान गरेको हो ।

पत्रकारिताको माध्यमबाट उपमहानगरपालिकाको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै नयाँ युगबोध दैनिकका जेएन सागर, राससका सुशीला वली, अभियान दैनिकका उदय बीसी, रेडियो मध्यपश्चिमका चन्द्रप्रकाश नेपाली र लौव अग्रासन साप्ताहिकका सन्तोष दहितलाई नगदसहित सम्मान गरेको हो ।

घोराही उपमहानगरपालिकका कार्यवहाक प्रमुख हुमाकुमारी डिसीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सम्मानित सबैलाई दोसल्ला, प्रमाणपत्र प्रदान गरेका थिए ।