दाङ । दाङ क्रिकेट संघको आयोजनामा दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) को दोस्रो संस्करण फागुन २६ देखि हुने भएको छ । दाङ क्रिकेट संघले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर फागुन २६ देखि लिगको दोस्रो संस्करण शुरु हुने जनाएको हो ।

‘दाङ क्रिकेट लिग’ लुम्बिनी प्रदेशकै ठूलो राशिको फेन्चाइज लिग भएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैंयाले बताए । लिगमा देशभरिका सय बढी खेलाडीलाई म्याच शुल्कसहितको क्रिकेट प्रतियोगिता खेल्ने अवसर प्रदान गरेको उनले जानकारी दिए ।

प्रतियोगिताका लागि प्रत्येक टिमले पाँच जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको छ । जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट हुने छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका एकरएक जना मार्की र टिम कप्तानका रूपमा टिम मालिकहरूले आफै छनोट गर्न सक्ने व्यवस्था छ ।

प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरूलाई खेलाडी खरिदका लागि न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजार रुपियाँसम्म खर्च गर्न सक्ने व्यवस्था गरेको छ ।