जाजरकोट । जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा दश हजार बढी अस्थायी आवास निर्माण भएका छन् । गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले घरमा क्षति भएपछि घरवारविहीन दस हजार १५९ प्रभावितका अस्थायी आवास निर्माण गरिएको हो ।
अस्थायी आवासका लागि जिल्ला विपत् व्यवस्थापन कोषबाट गएको शुक्रवारसम्म १ अर्ब ३ करोड ४१ लाख ७५ हजार निकासा भएको छ । ४२ हजार ५२४ लाभग्राहीको सङ्ख्या कायम भएकामध्ये अस्थायी आवास निर्माणका लागि २८ हजार ३८ जना लाभग्राहीले पहिलो किस्ता रकमका लागि सम्झौता गरे पनि २७ हजार ९१ लाभग्राहीले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाएका छन् ।
स्थानीय तहले अस्थायी आवासका लागि ६७ करोड ७२ लाख ७५ हजार रुपियाँ वितरण गरेकोमध्ये स्थानीय तह तथा नेपाल सरकारबाट नौ हजार ६३७ वटा विभिन्न विकास साझेदार र अन्य सहयोगीबाट ५२२ गरी जम्मा १० हजार १५९ अस्थायी आवास निर्माण भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए ।
