काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभामा ६ सिट दिए टिआरसीमा सघाउने प्रस्ताव अघि सारेको छ । यो प्रस्तावमा मिलेर जाने वातावरण बने संसद्बाट संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयक पारित गर्न सघाउने एमालेले प्रस्ताव गरेको हो । तर, सत्तागठबन्धनले एमालेको भूमिकामाथि आशंका गर्दै सहयोगको सुनिश्चितता खोजेको छ ।
बिहीबार बसेको गठबन्धनका प्रमुख चार दलको बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले चुनावी सहकार्यबारे गरेको प्रस्ताव ‘ब्रिफिङ’ गरेका थिए । ‘केपी ओलीजीले राष्ट्रिय सभाका ६ सिट एमालेलाई दिन आग्रह गर्नुभएको छ । यसबापत एमालेले टिआरसी सर्वसम्मत रूपले पारित गर्न सहयोग गर्छ भन्नुभएको छ । मैले गठबन्धनमा छलफल गरेर टुंगोमा पुगौँला भनेर ओलीजीलाई भनेको छु,’ बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै भने ।
