दाङ । पछिल्लो समयमा सडक दुर्घटना बढ्दै गएपछि दाङका सडकहरुमा सवारी साधन टाइम कार्ड लागु गर्ने तयारी गरिएको छ । सडकको विग्रिदो अवस्था, सवारी साधनको गति तीब्रता, सडकको साँघुरोपनलगायतका कारणले जिल्लामा सडक दुर्घटना बढ्दै गएपछि दुर्घटना न्यूनिकरण गरी यसबाट मानवीय क्षति कम गर्ने उद्देश्यले टाइम कार्ड लागु गर्ने तयारी गरिएको हो ।
जिल्लामा हुने धेरैजसो सडक सवारी दुर्घटनाको कारण सवारी साधनको अत्यिधिक तीब्र गति पनि देखिएकाले टाइम कार्ड लागु गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण मल्लले बताए ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जिल्ला सुरक्षा समितिको बैठक बसेर सवारीसाधनमा टाइम कार्ड लागु गर्ने निर्णय गरेको जानकारी दिए । टाइम कार्डको मापदण्ड के राख्ने, कति समय राख्ने भन्ने विषयमा सरोकारवालाको बैठकबाट निष्कर्ष निकाल्ने उनले बताए । राजर्मागमा गुड्ने सवारीसाधन तथा यात्रुको सुरक्षाका लागि प्रहरी जाँचमा कडाइ गर्न भने सुरु भइसकेको प्रजिअ सुवेदीले बताए ।











