दाङ । थारू समुदायले आफ्नो संस्कृति जोगाउनका लागि दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव २०८० लगाउने भएका छन् । थारू कल्याणकारिणी सभा लगायत दर्जनौ थारु संघ सस्थाको संयुक्त आयोजनामा यही पुस २० र २१ गते महोत्सवको आयोजना गरेका हुन् ।
पछिल्लो समयमा थारु भाषा, कला, संस्कृति लोप भइरहेकाले त्यसको संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको थारू कल्याणकारिणी सभाका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक अशोक चौधरीले बताए । यस महोत्सवले थारूभाषा, कला, संस्कृतिको प्रवद्धन संगै जिल्लाको पर्यटन विकासमा थप टेवा पुग्ने उनले दाबी गरे ।
“आर्थिक जागरण र साँस्कृतिक रुपान्तरण हाम्रो अभियान, सामाजिक न्याय सहितको समृद्धिमा हाम्रो योगदान” भन्ने मुल नारासहित आयोजना हुन लागिएको महोत्सवमा थारू परिकार, माछा, घोंगी, गंगटा, सुंगुरको मासु, लोक भालेको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटी, झोल सहित परिकार विक्री वितरणको लागि राखिने संयोजक चौधरीले बताए । त्यस्तै थारु भाषा, कला, संस्कृति, ज्ञानगुनका दर्जनौ पुस्तक, पत्र पत्रिकाहरु समेत विक्री वितरणको लागि राखिने छ । यस्तै थारु हस्तकला ढकिया, खोंग्या, भौका, भौकी, गोन्द्री, छट्री, खटिया, डोली, डोला, थारु गरगहना संगै मिनी थारु संग्रहालय लगायत प्रर्दशनीको लागि राखिने उनले बताए ।
यही पुस २० र २१ गते दुई दिनसम्म चल्ने महोत्सवमा ६ दर्जन भन्दा बढी मघौटा, हुर्डुंग्या, छोक्रा नाचको प्रस्तुति रहने महोत्सव मुल आयोजक समितिका सल्लाहकार भुवन चौधरीले बताए । जिल्लाका सवै पालिकाका विभिन्न मौलिक नाच, मघौटा ढुम्रु गीतको प्रस्तुति सहित थारु राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहने उनले बताए ।
महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संयोजक चौधरीले आज बुधवार पत्रकार भेटघाटमा जानकारी दिए । महोत्सवको उद्घाटन घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले गर्ने आयोजक सस्थाले जनाएको छ । पत्रकार भेटघाटमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, सल्लाहकार सविन प्रियासन लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष दहितले गरेकाथिए ।
