दाङ । पुस १३ गते मृत फेला परेका दाङको घोराही उपमहानगरपालिका वडा नं- ६ का शिवराज केसीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आज बुधवार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सेर बहादुर कवर मगर, उनकी श्रीमती दिपा कवर मगर र तिलक पुनलाई सार्वजनिक गरेको हो ।

पुस ८ गते मृतक शिवराज केसी दिपा कवर मगरसँगै वंगलाचुली गदारी भन्ने स्थानमा गएको र अर्को दिन पुस ९ गते घर दिपा मात्रै फर्किएपछि मृतकका आफन्तले दिएको दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गरेको थियो । खोज्दै जाँदा प्रहरीले पुस १३ गते राति करिव साढे १० बजेको समयमा वंगलाचुली गाउँपालिका ४ भुमेबरा समुदायिक वनको बिचमा पर्ने रुकधने कोइलाखानीको प्वालभित्र करिव ६० मिटरभित्र शिवराजको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक बहादुर मल्लले जानकारी दिए ।

शिवराज कोइलाखानीको प्वालभित्र मृत फेला परेपछि घटनामा सेर बहादुर कवर मगर, दिपा कवर मगर र तिलक पुन मगरको संलग्नता रहेको भनी मृतकका साला नाता पर्ने शिवराव वलीको प्रहरीमा किटानी दिएपछि उनीहरुलाई अमिलिया जंगलमा लुकिछिपी बसको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पछि गरिएको प्रारम्भिक अनुसन्धानबाट मृतक शिवराजको दिपासँग अनैतिक सम्बन्ध रहेको र त्यो थाहा पाएपछि श्रीमान सरे बहादुर र श्रीमती दिपाले जग्गा दिनुपर्ने माग राखेको खुलेको छ । मृतक शिवराजले जग्गा दिन नमानेपछि योजनावद्ध रुपमा हत्या गरेको अनुन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले बताए । दिपासँगको अनैतिक सम्बन्धसँगै “हनी ट्रयाप”कै शैलीमा शविराजलाई योजनावद्ध तरिकाले हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।घटनाका क्रममा हत्यामा संलग्न भएकाहरुलाई खोज्दै जाँदा प्रहरीले हत्यामा प्रयोग गरिएको एक थान भरुवा बन्दुक पनि बरामद गरेको छ ।

वंगलाचुली १ बस्ने मेघराज कवर मगरको घरमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला पारिएको प्रहरीले जनाएको छ । बन्दुकसँगै मेघराज पनि पक्राउ परेका छन् । बन्दुकसँगै बन्दुकमा प्रयोग गरिने १०८ थान छर्रा, दुई थान ठूला गोली, लामो आकारका ३९ थान गोली, ७५ ग्राम बारुद, पाँच थान केप र सिकारी झोला बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले चारै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।