बाँके । राजस्व अनुसन्धान कार्यालय कोहलपुरले आलु भन्दै प्याज भित्र्याउन खोज्ने एक व्यवसायीलाई पाँच लाख सैँतिस हजार ३४१ रुपैयाँ जरिवाना गरेको छ । नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज भित्र्याउने वीरेन्द्रनगर सुर्खेतको पूजा सब्जीमण्डीलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले जरिवाना तिराएको गरेको हो ।
राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख अनुसन्धान अधिकृत सुरेशराज जोशीका अनुसार भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर आएको ट्रकमा अनुसन्धान गर्दा प्याज ल्याएको पाएपछि कारबाही गरेको बताए । प्रज्ञापन पत्रमा उल्लेख नभएको ७१ बोरामा २ हजार ८४० केजी प्याज फेला परेको हुँदा पाँच लाख सैँतिस हजार ३४१ रुपियाँ जरिवाना तिराइएको छ ।
भारतबाट आएर सुर्खेत जान थालेको यूपी ४० टी ७४७४ नम्बरको तरकारीको सो गाडीलाई सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेको टोलीले नेपालगन्जको चौलिका चेकपोस्टबाट नियन्त्रणमा लिएर राजस्व अनुसन्धानमा बुझाएको थियो ।
सो गाडीमा प्रज्ञापन पत्रमा उल्लेख नभएको ७१ बोरा प्याज फेला परेकोले सो को जरिवाना बापत लाग्ने रकम पाँच लाख सैँतिस हजार ३४१ रुपियाँ पूजा सब्जी मन्डी वीरेन्द्रनगरले तिरेपछि मात्र गाडी र प्याज दुवै छोडिएको राजस्व अनुसन्धान कार्यालय कोहलपुरले जनाएको छ ।
