नवलपुर । नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट सासुबुहारीको ज्यान गएको छ ।

बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१ को खहरे जङ्गलमा स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको ज्यान गएको हो ।आइतबार दिउँसो घाँस काट्नसँगै निस्केका सासुबुहारीको आज (सोमबार) क्षतविक्षत अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपसारी पूर्वका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार आइतबार साँझसम्म पनि घर नफर्केपछि परिवारले स्थानीयको सहयोगमा नजिकको जङ्गलमा खोजतलाश दुबै जनाको शव क्षतविक्षत भएको अवस्थामा फेला पारेको हो ।

मृतक दुवै जनाको कम्परा र पछाडी पट्टी ढाडमा चोट रहेकाले बाघले आक्रमण गरेको र शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मध्यबिन्दु पठाइएको प्रहरीले जनाएको छ ।