काठमाडौं । गैरकानुनी बाटोबाटै नेपाली नागरिकलाई द्वन्द्वग्रस्त मुलुक रुसको सेनामा भर्ना गराउने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्वसुरक्षाकर्मी र बहालवाला सुरक्षाकर्मीलाई आर्थिक प्रलोभन देखाएर रुसी सेनामा भर्ती गराउने गरेको विशेष सूचनाका आधारमा प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले गिरोहका नाइके हरिबहादुर विश्वकर्मा (हरि विक) सहित ११ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
परिसरले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी पूर्वसैनिक विश्वकर्मासहित सुजाता दाहाल र ईश्वर अधिकारीलाई पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ । विश्वकर्मालाई ठमेलबाट र दाहाललाई दरबारमार्गबाट विभिन्न व्यक्तिका राहदानी, प्रवेशाज्ञा र अवैध रूपमा सङ्कलन गरिएको रकमसहित नियन्त्रणमा लिइएको परिसरका प्रमुख भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।
पक्राउ परेकामध्ये उदयपुरको कटारी नगरपालिका–६ का हरिबहादुर विश्वकर्मा मुख्य आरोपी हुन् । उनी म्यानपावर सञ्चालकसमेत हुन् । काठमाडौँ प्रहरीका डिएसपी अङ्गुर जिसीका अनुसार आरोपी विश्वकर्माले दुई पटक गरेर १८ जनालाई रुस पठाएको बयानमा स्वीकारेका छन् ।
पक्राउ पर्ने अन्यमा काठमाडौँ जोरपाटीका सन्तोष रोका, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका मनीष न्यौपाने, काठमाडौँ–१६ का रोजल महर्जन, बुढानीलकण्ठका क्षितिज गिरी, सिराहाका दिपेन परियार, काभ्रेका सुवास लामा र चितवनका गोकर्ण अर्याल छन् । त्यस्तै बाराका सन्तोष नेपाल र दाङका द्रोण डाँगी पनि पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये सुजाता दाहालको साथबाट २७ र ईश्वर अधिकारीको साथबाट १६ वटा राहदानीसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार दाहाल कन्सल्टेन्सी सञ्चालक हुन् । उनीहरुले पर्यटन भिसाको आवरणमा गैरकानुनी बाटोबाटै नेपाली नागरिकलाई द्वन्द्वग्रस्त मुलुक रुसको सेनामा भर्ना पठाउने गरेको खसलेको छ ।
