काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको थुनछेकबारे अर्को बिहीबार निर्णय हुने भएको छ । गोलाप्रथाबाट छानिएका न्यायाधीशको इजलासले उनी थुनामै रहने कि धरौटी वा साधारण तारेखमा रिहा हुने विषयमा आदेश दिनेछ ।
२८ मंसिरमा गोलाप्रथाबाट दुवै न्यायाधीशको रायसहितको प्रतिवेदन एक न्यायाधीशको इजलासमा पेस हुने उच्चका उपरजिस्ट्रार तीर्थराज भट्टराईले बताए । शुक्रबार उच्च अदालत पाटनको संयुक्त इजलासले यस प्रकरणमा थुनामा रहेकाहरू तथा सरकारले दर्ता गराएको निवेदनमाथि अन्तिम आदेश दिएको थियो । तर, खाणको हकमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको फरक–फरक राय आएपछि तेस्रो न्यायाधीशको इजलासमा पेस हुने भएको हो ।
उच्च अदालत पाटनको संयुक्त इजलासले गत शुक्रबार थुनामा रहेकामध्ये नौजनालाई थुनामै राख्ने, ६ जनालाई धरौटीमा रिहा गर्ने र चारजनालाई साधारण तारेखमा रिहा गर्ने फैसला सुनाएको थियो ।
