इन्द्रेणी संवाददाता
पछिल्लो समय अधिकांस नेपाली लोकदोहोरी म्युजिक भिडियोहरुमा देखापर्ने मोडल हुन् जुना गुरुङ । जति जति नयाँ नयाँ लोक दोहोरी गीतहरु चर्चामा आउँदछन् प्राय सबैजसोमा मोडलिङ गरेकी हुन्छन जुना गुरुङले ।
हसिलो चेहरा, कसिलो जिउडाल र सुशील स्वाभावाकी त्रिमूर्ति जुना झट्ट हेर्दा गाउँकी सामान्य चेली जस्ती देखिन्छिन । तर उनमा भएको मोडलिङ र अभिनय क्षेत्रको असामान्य प्रतिभा देखेर नेपाली लोक गीत पारखीहरु मन्त्रमुघ्ध छन् ।
दुर्गम गोर्खा जिल्लाको अत्यन्तै बिकट बस्ती आरुघाट पात्लेमा एक निम्नवर्गीय परिवारमा जन्मिएकी मोडल जुनाले कहिले पनि सोचेकी थिइनन कि आफू भविष्यमा गएर चर्चित मोडेल बन्छु भनेर । तर नियतिको खेल समयले उनलाई लोकप्रिय मोडल बनाइदियो ।
स्कुले उमेर देखिनै नृत्यमा विशेष रुची थियो जुनाको । उनले स्कुल र गाउँहरुमा हुने सामान्य कार्यक्रम, मेला पर्वहरुमा सामान्य नृत्यमा पहिलेदेखि नै भाग लिदै आएकी थिइन ।
तर बिकट गाउँको एक सामान्य परिवारमा जन्मिएकाले उनलाई सहरमा छिरेर उच्च शिक्षा आर्जन गर्ने र नृत्य विधामा विज्ञता हाँसिल गर्ने इच्छा मन भित्रै कुण्ठित भएर रहन्थ्यो ।
दुर्गम वस्तीको एक निम्नवर्गीय परिवारमा जेठो सन्तानका रुपमा जन्मिएकी जुना परिवारको आशा र भरोसाकी केन्द्र पनि थिइन ।
परिवारको जेठो सन्तानका रुपमा जन्मिएकी जुनाका बा आमाले छोरा पाउने आशाले पाँच बहिनी छोरीको जन्म दिए । परिवारमा छोरी मात्रको जन्म भएपछी जेठो सन्तानका रुपमा छोरा र छोरी दुबैको भूमिकामा काम गर्नुपर्ने अभिभारा आयो जनाका काँधमा ।
अनि राजधानी छिरेर आधुनिक सिलाइकटाइ सिकेर गाउँ फर्किने र गाउँमै व्यावसाय गरेर बा आमालाई सुख दिने सुनौलो सपना बोकेर किशोर अवस्थामा नै राजधानी छिरिन जुना ।
राजधानी छिरेपछि उनको जीवनले नयाँ मोड लियो । सिलाइकटाइको सट्टा उनले बालापन देखिको दविएर रहेको सपना नृत्य सिकिन ।
नृत्य सिक्दै गर्दा छोटो समयमा नै जीवन्त अभिनय समेत गर्न सफल भएकी मोडल जुनाले म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिन ।
‘पिरतीको कहानी’ बोलको लोकदोहोरी गीतमा उनले सबैभन्दा पहिले अभिनय गरिन । अभिनयका क्रममा आफ्नो प्रस्तुतिमा जीवन्तता प्रदान गरेकाले उनको पहिलो भिडियो नै आम दर्शकहरुका बीच लोकप्रिय बन्यो । जसले उनलाई थप काम गर्न हौसला प्रदान समेत गर्यो ।
झन्डै २ सय भन्दा बढी म्युजिक भिडियोहरुमा मोडलिङ गरेकी गुरुङका ‘कपालु कोरेर’, ‘पानपाते ठूली’ र ‘हातमा घडी छ-२’ लगायतका म्युजिक भिडियोहरु अति नै लोकप्रिय भए ।
हाल मोडलिङ क्षेत्रमा भ्याइनभ्याइ भएपनि उनले आफूलाई अझै मोडल मान्दैनिनरे । उनि भन्छिन – “यस क्षेत्रमा दर्जनौं भोटो फटाएका अग्रज कलाकारहरु छन् । उनीहरुका अगाडी आफूलाई सामान्य नै लाग्छ । तर यस क्षेत्रमा स्थापित हुनलाई अझै सक्दो संघर्ष गर्दैछु ।”
मोडलिङ क्षेत्रमा लागे देखि ‘म्युजिक अवार्ड’, ‘सगरमाथा अवार्ड’ र ‘लोक दोहोरी अवार्ड’ जस्ता राष्ट्रिय अवार्ड तथा दर्जनौं पुरुस्कारहरु प्राप्त गरेकी लोकप्रिय मोडल जुनालाई नेपाली चलचित्रमा पनि अफर आइरहेको छ । अझै यस क्षेत्रमा केहि सिक्दै गरेकी जुनाले अब भने उपयुक्त रोल सहितको फिल्म आए फिल्म पनि खेल्ने इच्छा व्यक्त गरिन ।
