काठमाडौँ । पटक पटक खाना पकाउने ग्याँसको मूल्य बृद्धि हुन्छ । सर्वसाधारणको भान्सामा दैनिक प्रयोग हुने ग्याँसको मूल्य बढ्दा दिनभरी काम गरेर साँझ विहान खानेहरुका लागि हातमुख जोडन गाह्रो भएको छ । यसरी जनताको हातमुख जोड्न मुस्कील हुने गरी ग्याँसको मूल्य बढ्नमा सरकार दोषि छ । सरकारले खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकमै नभएको उपभोक्तारीबाट चर्को कर असुली गरिरहेको छ ।
दक्षिण एसियाका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन तर मुलुकमा सरकारले ग्यासमा विभिन्न सात वटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको छ ।
नेपाल आयल निगमका अनुसार हाल प्रतिसिलिन्डरमा ३०९ रुपियाँ कर रहेको छ । छिमेकी मुलुक भारत सरकारले इन्डियन आयल कर्पोरेसन ९आइओसी० लाई रकम दिएर उपभोक्तालाई सहुलियत रूपमा ग्यास वितरण गरिरहेका बेला नेपाल सरकारले भने चर्को कर लिएर उपभोक्तालाई ग्यास महँगो परिरहेको छ । छिमेकी मुलुक भारतले ग्यासमा कर लगाएको छैन । अत्यावश्यक वस्तुका रूपमा रहेको ग्यासमा अन्य कुनै पनि एसियाली मुलुकले उपभोक्ताबाट कर असुल गरेका छैनन् ।
२०६८ सालमा निगम सुधार गर्न तत्कालीन संविधान सभा सदस्य भीम आचार्यको संयोजकत्वमा गठित समितिको प्रतिवेदनले घरायसी प्रयोजनमा प्रयोग हुने ग्यासमा कर दस्तुर लगाउन नहुने सुझाव दिएको थियो तर सरकारले समितिले दिएको सुझाव पालन नगरी सर्वसाधारणबाट चर्को शुल्क लिएर महँगोमा ग्यास खरिद गर्न बाध्य परेको उपभोक्ताको भनाइ छ ।
