हुम्ला । हिमाली जिल्ला हुम्लाका किसानहरुको वगैंचामा लटरम्म फलेर स्याउ पाकेका छन् । तर स्याउ त पाके किसानहरुलाई बिक्री नहुने चिन्ता सुरु भएको छ। स्याउ बढी उत्पादन हुने माथिल्लो हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा जिल्ला बाहिर निकासी गर्न नसकिने भएकाले किसान चिन्तित छन्।

सिमकोट गाउँपालिका–५ की शान्ति लामाले ५० बोट स्याउ फलाउन सफल भए पनि बिक्री गर्न समस्या भएको बताइन् । स्याउ पाकेको भए पनि बजार नभएको कारण स्याउ खेर जाने समस्या देखिएको लामाको गुनासो छ। स्याउ फारममा करिब ५० क्विन्टल स्याउ फलेका छन्। उनले सिमकोट बजारमा सीमित स्याउ बिक्री हुने गरेको बताउँदै बाँकी स्याउ बिक्रीमा समस्या देखिएको बताइन् ।

बोटमा स्याउ राम्रै फलेको तर बजारको समस्या देखिएको सिमकोट गाउँपालिका–६ का जयचन्द्र रोकायाले बताए । उनले स्याउ नफले नफलेको चिन्ता, फले बिक्रीको चिन्ता हुने गरेको बताउँदै माथिल्लो हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदासम्म समस्या हरेक वर्ष भोग्नुपर्ने अवस्था रहेको बताए ।

हवाई मार्गबाट जिल्ला बाहिर निकासी गर्दा ढुवानी बढी लाग्ने भएकाले त्यसै ढुवानी गर्न नसकिने किसानहरुको भनाइ छ । पाकेर टिप्ने तयारी भएका स्याउ कसरी भण्डार गर्ने चिन्ता थपिएको किसान रोकायको गुनासो छ। कृषि बिमासमेत नभएकाले बिक्री नभएको स्याउको क्षतिपूर्ति माग्ने माध्यम समेत किसानलाई नभएको दुखेसो किसानको छ ।

कृषि विकास कार्यालयका प्रमुख धर्म शाहीले स्याउका लागि बजारको समस्या भएको स्वीकारे । जिल्लाभर ५० भन्दा बढी बोट लगाएर स्याउ फलाउने किसानको सङ्ख्या ७० भन्दा बढी भएको बताए । दक्षिणी हुम्ला भने राष्ट्रिय सडक सञ्जालसँग जोडिएको कारण समस्या नहुने बताए । जिल्ला भर दुई हजार ८८५ हेक्टर जमिनमा स्याउ खेती गरिएको र त्यसबाट चार हजार ३२१ मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान कार्यालयले गरेको छ।