काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले बुधवार निकालेको सूचनामा विद्यालय बन्द गरेमा कारबाही गर्ने उल्लेख छ । आफ्ना माग पूरा गर्ने नाममा शिक्षकहरूका कारण बालबालिकालाई पठनपाठबाट वञ्चित गर्नु उपयुक्त नहुने महानगरको भनाइ छ ।
सूचनामा महानगरपालिका मातहतका विद्यालय आज बिहीवार सबै खुला गर्न भनिएको छ । महानगरले यसअघि पनि विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारीले बन्द हडताल गरेमा सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको थियो । शिक्षा विधेयकमा विमति जनाउदै हिजोदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ : बालेन
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले विद्यालय शिक्षा विधेयकमा आफूहरूको पनि असहमति रहेको बताएका छन्।
आज शिक्षकहरूको आन्दोलन र पठनपाठन अवरोध भएको विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा स्टेटस राख्दै उनले विधेयकमा असहमति भए पनि स्कुलमा अवरोध पुर्याउने कार्य गर्न नहुनेमा जोड दिएका छन्।
आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकाले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको उल्लेख गर्दै उनले काठमाडौँको शिक्षाको नीति र जुम्लाको नीति तथा आवश्यकता फरक हुने बताए।
त्यसैले स्थानीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको वर्खिलाप भएको उनको तर्क छ। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरित रहेकाले किमार्थ स्वीकार गर्न सकिने बालेनले उल्लेख गरेका छन्। तर शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुराउनु होला। यस्ता अवरोध पुराउनेहरूलाई कानुन (संविधान) अनुसार कारबाही हुनेछ, उनले भनेका छन् ।











