काठमाडौं । हवाई कार्गोमार्फत नेपालमा सुन तस्करी गर्ने चिनियाँ समूहले दुई वर्षअघिदेखि नेपालमा तस्करीको योजना बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

सुरुमा उनीहरूले ‘स्मार्ट वाच’मा लुकाएर सुन तस्करी गरेकोमा विमानस्थलमै चोरी हुन थालेपछि सवारीसाधनका पार्टपुर्जा तथा सेभरलगायत मेसिनमा लुकाएर तस्करी गर्न थालेका हुन् ।

सुरुमा सो समूहले दोलखा इलेक्ट्रोनिक्स सप्लायर्स नामक कम्पनी खडा गरी हङकङ हुँदै स्मार्ट वाच आयात गरेको थियो । त्यसभित्र सुन हुने गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सरकारी वकिल कार्यालयलाई बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार गत माघदेखि नै उनीहरूले स्मार्ट वाचमार्फत सुन तस्करी गर्न थालेको देखिन्छ । एउटा घडीमा २० ग्राम सुन हुने गरेको पक्राउ परेका चिनियाँ लिन जेक्वाङले बयानमा उल्लेख गरेका छन् ।

उनले बयानमा भनेका छन्, ‘सन् २०२३ को मार्चदेखि सुरुमा स्मार्ट वाच ९घडी०मा सुन नराखी पैठारी गरेको र दुई–तीनपटकपछि स्मार्ट वाचमा सुन राखी ल्याउन सुरु गरेको हो । एउटा स्मार्ट वाचमा २० ग्रामजति सुन हुन्थ्यो । स्मार्ट वाचमा सुन राखी ल्याउन थालेपछि विमानस्थल भन्सार कार्यालयबाट वेलावेलामा स्मार्ट वाच केही संख्यामा हराउन थाले, एकपटक आठ थान हराएपछि सेभर र ब्रेक प्याड सुलगायत मालबस्तुमा सुन राखी ल्याउन थालिएको हो । मलाई जानकारी भएअनुसार सेभरमा दुईपटक सुन राखी आएको थियो । दाह्री काट्ने सेभरको स्ट्यान्डभित्र लुकाई ५० ग्राम सुन आउँथ्यो । त्यस्तै, मालबस्तुमा कहिले सुन राखी र कहिले सुन नराखी आउने गर्थ्यो । ब्रेक प्याड सुमा राखेको सामान कहिल्यै हराउँदैनथ्यो र एक सेट ब्रेक प्याडमा पाँच सय ग्रामदेखि ६ सय ग्रामसम्म सुन हुने गर्थ्यो ।’

दोलखा इलेक्ट्रोनिक्स सप्लायर्स कम्पनीले मात्र तीन महिना अवधिमा चार हजार सात सय १६ स्मार्ट वाच आयात गरेको उल्लेख छ । २० ग्रामका दरले त्यसमा ९४ केजी सुन रहने देखिन्छ नयाँ पत्रिकामा खबर छ। यस विषयमा सिआइबीले दोस्रो चरणमा अनुसन्धान गरिरहेको छ ।