काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विश्वका उदीयमान व्यक्तिको सूचीमा परेका छन्। टाइम पत्रिकाले विश्वका १०० जना उदीयमान व्यक्तिमध्ये नेताको सूचीमा बालेनको नाम समावेश गरेको छ।

उदीयमान नेताको रुपमा बालेनसहित २४ जनाको नाम टाइमले समावेश गरेको छ। ‘२०२३ टाइम १०० नेस्ट’को सूचीमा समावेश गर्दै बालेनबारे टाइमले लेखेको छ, ‘स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय (युवा) स्वतन्त्र रुपमा दौडिए र यथास्थितिप्रति मतदाताको आक्रोशको फाइदा उठाउनका लागि टिकटक, ट्विटर तथा इन्स्टाग्रामको प्रयोग गरे। जसबाट ‘बालेन प्रभाव’ उत्पन्न भयो र लगभग ३८५ जना स्वतन्त्र (उम्मेदवार)हरु खडा भए।’

स्वतन्त्र उम्मेदवारका रुपमा चुनावमा उठेका बालेनले दिग्गज नेताहरुलाई हराएर जित निकालेकोबारे पनि टाइमले संक्षिप्त चर्चा गरेको छ। ‘२०१५ (२०७२ साल)को विनाशकारी भूकम्पबाट गुज्रिरहेको शहरमा शाहका (चुनावी) अभियानका बाचाहरु सरल थिए, तर धेरै जरुरी सुधारहरु प्रस्ताव गरिएको थियो,’ टाइमले लेखेको छ।

टाइमले कला, घटना, अनुसन्धान (नवप्रवर्तन), नेतृत्व र वकालत शीर्षकमा विश्वभरका १०० जना उदीयमान व्यक्तिहरुको सूची तयार गरेको छ।