सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकासलाई प्राथमिकतामा राखेको बताएका छन् ।
सोमबार कर्णाली प्रदेश सरकार वीरेन्द्रनगर, सुर्खेतद्वारा आयोजित कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८० कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई सङ्घीय सरकारको पूर्ण साथ र सहयोग रहने बताए ।
‘‘कर्णालीको विकासलाई मैले सधैं प्राथमिकतामा राख्दै आएको छु, आगामी दिनमा समेत नीति, कार्यक्रम र बजेटमा यस प्रदेशलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछु’’, उनले भने ।
उनले अथाह प्राकृतिक साधनस्रोत हुँदाहुँदै पनि भौतिक पूर्वाधारको अभाव, पूर्वाधार विकासमा भौगोलिक चुनौती एवम् आर्थिक स्रोत परिचालनको अभाव, कर्मचारी परिचालन र व्यवस्थापनमा चुनौतीजस्ता विषयहरू गम्भीर प्रकृतिका रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले प्रदेशको मेरूदण्डका रूपमा रहेका टेरिटोरियल तथा कोरिडोर विकास अवधारणा, कर्णाली करिडोर, कर्णाली राजमार्ग, भेरी करिडोर, राप्ती लोकमार्ग, थारमारे चौरजहारी जुम्ला शहीद कामी बुढा मार्ग, कैलाश मानसरोबर दर्शन क्षेत्र हुँदै मुक्तिनाथ जोड्ने सडक योजना जस्ता रणनीतिक महत्त्वका योजना पूरा गर्न सङ्घीय सरकारको तर्फबाट सम्पूर्ण रूपले पहल हुने जानकारी दिए ।











