बारा । दुई बालबालिका चोरी गरी भारत लैजादै गर्दा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नं ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई बारास्थित सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

ती युवकले देवताल गाउँपालिका ३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरालाई बोरामा हालेर भारततर्फ लैजादै गरेको फेला पारिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक टोपबहादुर डाँगीले जानकारी दिए ।

ती दुई बालबालिकालाई आइतबार उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाइएको थियो । बोरामा राखी भारततर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनेपछि उद्धार गरिएको थियो । उद्धार गरिएका बालबालिकालाई आइतबार नै अभिभावकको जिम्मा लगाइएको छ ।