काठमाडौ । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । मङ्गलबार अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ५० दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार नियमिततर्फ कुल तीन लाख ७२ हजार ६३७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ५१ जनाको परीक्षा रद्द गरिएको जानकारी बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले दिए ।
कुल एक लाख ८९ हजार ७१ विद्यार्थी उत्तीर्ण भएका छन् । जिपिए ३ दशमलव ६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या छ हजार ९७६ छन् । त्यसैगरी, ३ दबमलव २१ देखि ३ दशमलव ६० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ९९९ छन् । त्यस्तै, २ दशमलव ८१ देखि ३ दशमलव २० ल्याउने परीक्षार्थीको सङ्ख्या ६९ हजार १७४ छ ।
यसैगरी, जीपीए २ दशमलव ४१ देखि २।८० ल्याउने विद्यार्थीको सङ्ख्या ६३ हजार ७७ छ भने २।०१ देखि २।४० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ११ हजार चार सय ३८ रहेको छ । यस्तै, १।६१ देखि २ सम्म जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४७ रहेको छ । यसैगरी, एक लाख ८२ हजार ९२६ जना विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न सकेनन् ।
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट https://www.neb.gov.np/ र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।
