रोल्पा । प्रायः विद्यालयमा पढाइबाहेक अतिरिक्त क्रियाकलापमा के–के सिकाइन्छ रु हाजिरीजवाफ, वक्तृत्वकला, निबन्ध लेखन, यस्तै यस्तै । यहाँस्थित एक विद्यालयले छात्रछात्रालाई घरेलु उपयोगका सामग्री बुन्न सिकाइरहेको छ । नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्ने उद्देश्यले रोल्पा नगरपालिका–६ धाबाङस्थित आधारभूत विद्यालयले विद्यार्थीलाई डोको, कुचो, नाम्लो र दाम्लो, मान्द्रो, सुइटर बुन्न र गाउने सीप सिकाउने गरेको हो ।

घरेलु उपयोगका सामग्री बुन्ने सीप गाउँबाटै हराउन थालेपछि हरेक शुक्रबार एक घण्टीमात्रै पढाएर इच्छुक विद्यार्थीलाई सीप सिकाउन थालिएको प्रधानाध्यापक विशाल केसीले बताए । ‘सिपालु अभिभावक बोलाएर सिकाउने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘अघिल्लो पुस्ताले जानेको सीप पछिल्लो पुस्तालाई सिकाउने उदेश्य हो ।’

छात्रालाई सुइटर, मोजा, पन्जा, ब्यागलगायत सामग्री बुन्ने सीप सिकाउने गरिएको छ । परम्परागत सामान बनाउने सीप सिक्न विद्यार्थीले चासो दिने गरेका छन् । सीपको वृद्धि गर्न विद्यार्थीले आफैं सामग्री उत्पादन गर्नुपर्ने र शिक्षकको सहयोगमा समुदायमाझ लगेर बिक्री पनि गर्नुपर्नेछ । त्यसबाट एकातिर सीपको हस्तान्तरण हुनेछ भने अर्कातिर विद्यार्थीले मिहिनेतअनुसार आर्थिक उपार्जन गर्नेछन् ।

डोको बुनाइमा कक्षा ६ देखि ८ सम्मका २१ छात्र छन् । सुइटर बुनाइमा कक्षा ६ देखि ८ सम्मका ३० छात्रा छन् । गायन सिक्नेमा २० छात्रछात्रा छन् । डोको बुन्न सिकाउन अभिभावक हिमलाल वली र खड्कबहादुर खत्री खटिएका छन् ।

सुइटर बुन्न सिकाउनेमा शिक्षिका जुनकुमारी विक र अनिता पुन छन् । बालबालिकालाई स्थानीय कलाकार शेरबहादुर घर्तीमगरले साप्ताहिक रूपमा संगीत शिक्षा र गायन सिकाउने गरेका छन्  कान्तिपुरमा खबर छ। ‘घरमा हजुरबा र बाले डोको बुनेको देखेको थिएँ, अहिले म आफैंले सिक्न पाएँ,’ कक्षा ८ का खड्कसिंह वलीले भने, ‘विद्यालयमै सीप सिकाउने व्यवस्था मिलेकाले खुसी लागेको छ ।’