काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा जोख्न पुर्‍याइएको छ ।

राजस्व अनुसन्धान विभागले बुधबार राति सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो सुन जोख्न पुलचोकस्थित राजश्व अनुसन्धान विभागबाट आठ वटा बाकसमा बबरमहल ल्याइएको हो ।

मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको थियो ।

सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् । यसैगरी, उक्त सुन जाँचपास भएको सम्बन्धमा छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समितिसमेत गठन गरिसकेको छ ।