काठमाडौं । सांसद सोविता गौतमले चार देशका अरु युवा राजनीतिज्ञसँगै ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् ।

नेपालकी युवा सांसद गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अस्ट्रेलियाकी अयोर मकुर चुओट र न्युजिल्यान्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड जितेका आयोजक वन योङ वर्ल्डले जनाएको छ । वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो ।

अवार्डका लागि सोवितासँगै विभिन्न देशका १५ सांसद, मेयरलगायत सर्टलिस्टमा समेटिएका थिए । संस्थाले सर्टलिस्टमा समावेशमध्ये पाँच जनालाई अवार्ड दिँदै आएको छ । सोविता गौतम नेपालकी सबैभन्दा कान्छी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा सर्ट लिस्टमा छनोट भएकी थिइन् ।