काठमाडौँ । सरकारले कार्यान्वयनमा ल्याएको आलाकार्ट प्रणाली लागु नगरेपछि भोलि साउन १ देखि नेपालमा सशुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने भएको छ।

विदेशी सिग्नल वितरक र अपरेटरलाई बारम्बार आलाकार्ट प्रणाली कार्यान्वयन गर्न औपचारिक जानकारी गराइए पनि अहिलेसम्म लागु नभएपछि त्यस्ता विदेशी च्यानल बन्द हुने अवस्था सिर्जना भएको सूचना तथा प्रसारण विभागले जनाएको छ।

विभागले विज्ञप्ति जारी गर्दै असार २८ गतेभित्र सशुल्क विदेशी च्यानलको शुल्क र बुके (टेलिभिजन च्यानलको बन्डल) उपलब्ध गराउन भने पनि त्यो प्राप्त नभएको उल्लेख गरेको छ। सरकारले २०७९ चैत १५ गते आलाकार्ट प्रणाली लागु गर्ने निर्णय गरेको थियो।

विदेशी टेलिभिजन च्यानलसमेत हेरिरहेका उपभोक्ता वा दर्शकलाई पर्ने आर्थिक भारलाई न्यायोचित बनाउन विद्यमान शुल्क प्रणालीलाई सुधार गरी सरकारले आलाकार्ट शुल्क प्रणाली कार्यान्वयन गर्ने योजना अघि सारेको थियो। यो प्रणालीमा उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्न सक्ने सुविधा हुन्छ। अहिले उपभोक्ताले आफूले नहेर्ने च्यानलको पनि शुल्क तिर्दै आएका छन्।