दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याएका घोराही ३ का ११ वर्षिय बालक आक्रोश नेपालीको ज्यान गएपछि उत्पन्न भएको तनाव आज पनि कायमै छ ।
डाक्टर र स्वास्थ्यर्कीको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै पीडित पक्षले दोषीमाथि कारवाही र पीडितलाई उचित क्षतिपूर्तिको माग गर्दै आज पनि अस्पताल परिषरमा धर्ना दिएका छन् । पीडित पक्षको धर्ना र अवरोधका कारण आज प्रतिष्ठानको ओपिडी सेवा बन्द रहयो भने अन्य सेवा पनि प्रभावित भएको छ । सेवा बन्द भएपछि अस्पतालमा उपचार गर्न आएका विरामीहरु समस्यामा परेका छन् । पीडित पक्ष र अस्पताल प्रशासन पटक पटक छलफलमा वस्दा समेत कुनै निष्कर्ष ननिस्कदा अस्पताल परिषरको पटक पटक तनावपूर्ण अवस्था बन्यो ।
केही समय अस्पताल जनिकै ट्राफिक चोकको यातायात आवागमन पनि आंशिक रुपमा प्रभावित बनेको थियो । त्यहाँ थप अप्रिय घटना हुन नदिन बाक्लो संख्यामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
असार २६ गते साँझ साढे सात बजे प्रतिष्ठानमा भर्ना भएका ११ वर्षका नेपालीको २८ गते बिहान करीव साढे १० बजतिर मृत्यु भएको हो । बालकको एमआरआई गर्ने क्रममा अक्सिजन सिलिण्डरसँगै लैजाँदै गर्दा ढोकाबाटै एमआरआई मेसिनको चुम्बकले तानेर सिलिण्डरले चोट लाग्दा बालकको मृत्यु भएको पीडित परिवारले दाबी छ।
मृतक बालकका आफन्तले निको भएको बच्चालाई एमआरआई गर्ने भनेर लगेपछि अक्सिजन सिलिन्डर एमआरआई मेसिनमा ठोक्किएको र डाक्टर बच्चा छाडेर भागेको आरोप लगाएका छन् । तर अस्पतालले भने केही मानवीय त्रुटि भएको तर बालकको छारे रोगबाट ज्यान गएको दावी गरेको छ ।
