काठमाडौं । महामारीका रुपमा देखापरेको पशुमा लाग्ने रोग लम्पी स्किनबारे सदनमै कुरा उठेको छ । आज सांसदहरुले यो रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै लम्पी स्किन रोगका कारण देशका विभिन्न स्थानमा किसानका गाईभैँसीको मृत्यु भएको भन्दै नेकपा एमालेका सांसद पदम गिरीले किसानलाई राहत दिन माग गरिन् । यो रोग नियन्त्रणका लागि संसदीय पूर्वाधार विकास कोषको बजेट रकमान्तर गरेर भए पनि खर्च गर्न माग गरिन् ।

सांसद रामहरि खतिवडाले देशका विभिन्न स्थानमा यस रोगका कारण रोपाइँको समयमा गोरु मर्दा किसानले खेतीपाती गर्न सक्ने अवस्था नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

संसदमा यो रोगको बारेमा जोडदार कुरा उठेपछि सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।

देशव्यापी रुपमा महामारीका रुपमा फैलिएको सो रोगका कारण हजारौँ पशुचौपाया मरेका कारण किसान मर्कामा परेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसदहरुको पटक–पटकको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सो रोग नियन्त्रणका लागि सरकारका तर्फबाट भइरहेको प्रयासका बारेमा जानकारी गराउन कृषि मन्त्रालयलाई निर्देशन दिएका हुन् ।