काठमाडौ । बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणका पक्राउ अभियुक्तविरुद्ध सात दिनको म्याद थप भएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई घटनाको थप अनुसन्धान गर्ने बाटो खुलेको छ ।
संलग्न अन्य अभियुक्तलाई पनि पक्राउ गर्ने तयारी छ । जग्गा हिनामिना गर्ने क्रममा सरकारको कार्यकारी तहमा रहेकाहरूलाई सिआइबीले ‘हिट लिस्ट’मा राखेको छ, जसमा ३९ जनाभन्दा धेरै छन् । उनीहरू अधिकांशविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले ललितानिवासको जग्गा हिनामिना गर्दा त्यतिवेला सम्बन्धित सरकारी निकायको कार्यकारी तहमा रहेकाहरूविरुद्ध अबको ‘अप्रेसन’ केन्द्रित हुने बताइन् । ‘सरकारी जग्गा व्यक्तिको नाममा गएको छ । यसका लागि कागजात किर्ते गरिएका छन् । यो धन्दामा सम्बन्धित निकायका ‘मेजर पोस्ट’मा रहेकाहरूको खास संलग्नता देखिन्छ । अबको कारबाही उनीहरूविरुद्ध केन्द्रित हुनेछ । उनीहरूविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ,’ उनले भनिन् ।
सिआइबीका अनुसार थप अनुसन्धानको ‘हिट लिस्ट’मा सम्बन्धित मन्त्रालयका तत्कालीन मन्त्री, सचिव, सहसचिव, उपसचिव, सम्बन्धित विभागका महानिर्देशक, प्रशासक, उपसचिव, कार्यालय प्रमुख रहेका छन् । थप अनुसन्धानपछि घटना सम्बन्धमा ‘वास्तविक सिनेमा’ देखिने भन्दै भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितकोे सात टोली पक्राउ ‘ट्रेलर’ मात्रै रहेको बज्राचार्यले बताइन् । ‘घटनामा जोडिएका केही ‘हाई प्रोफाइल’ अभियुक्त पक्राउ परे । यो त ‘टे«लर’ मात्रै हो । वास्तविक सिनेमा थप अनुसन्धानपछि देखिनेछ । हेर्दै जानुहोला,’ उनले भनिन् ।
सिआइबी स्रोतका अनुसार थप अनुसन्धानको ‘हिट लिस्ट’मा तत्कालीन उपप्रधानमन्त्रीसमेत रहेका भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, भौतिक योजना मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिवद्वय छविराज पन्त र दिनेशहरि अधिकारी छन् नयाँ पत्रिकामा खबर छ। भूमिसुधार मन्त्रालयका तत्कालीन सहसचिवद्वय जितबहादुर थापा र तेजराज पाण्डे, भौतिक योजना मन्त्रालयका तत्कालीन उपसचिव(कानुन) विनोदकुमार गौतम, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक अशोकनाथ उप्रेती, भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशकद्वय रुद्रकुमार श्रेष्ठ र पुष्पराज उपाध्याय पनि ‘हिट लिस्ट’मा छन् ।
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कार्यालय प्रमुख हरिकृष्ण तिमिल्सिना, तत्कालीन उपसचिव लक्ष्मीनारायण उप्रेती, अधिकृत दिनेशप्रसाद शर्मा पनि उक्त सूचीमा छन् ।
