तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को लागि १ अर्ब ७९ करोड ४५ लाख ६९ हजार सात सय ५० रुपैयाँ बराबरको बजेट ल्याएको छ । आइतवार सम्पन्न नगरसभाबाट यो बजेट सार्वजनिक गरेको हो ।

बजेट सार्वजनिकसँगै बजेटको स्रोतको पनि अनुमान गरेको छ । जसमा आन्तरिक स्रोतबाट २१ करोड, स्थानीय तह राजश्व बाँडफाँड, मालपोत, रजिष्ट्रेशनबाट १२ करोड, ढुंगा गिट्टी दहत्तर बहत्तरबाट तीन करोड र विज्ञापन करबाट १५ लाख गरी कुल आन्तरिक आम्दानी ३६ करोड १५ लाख अनुमान गरिएको छ । पालिकाले संघीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानीकरण अनुदान २९ करोड आठ लाख, सशर्त अनुदान ६५ करोड १३ लाख, समपूरक अनुदान ७५ लाख, विशेष अनुदान एक करोड र राजश्व बाँडफाँड संघ २३ करोड दुई लाख ७१ हजार, खानी र वन रोयल्टीबाट १५ लाख गरी कुल एक अर्ब १९ करोड १३ लाख ७१ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानीकरण अनुदान दुई करोड २३ लाख ४१ हजार, सशर्त अनुदान दुई करोड ३६ लाख ५० हजार, समपुरक अनुदान दुई करोड, राजश्व बाँडफाँड प्रदेश दुई करोड ११ लाख ३० हजार सात सय ५० गरी कुल आठ करोड ७१ लाख २१ हजार सात सय ५० र अन्य संघसंस्था अनुदानमा नगर विकास कोष ऋण ११ करोड, युनिसेफ अनुदान ४५ लाख र सडक बोर्ड नेपालबाट एक करोड, युएसआइडी ९जिटुजी० कार्यक्रम सञ्चालनका लागि तीन करोड ७७ हजार अनुदान प्राप्त हुने अनुमान छ ।