barasat nahuda sukadi gayako makai bali

दाङ । लामो समयसम्म खडेरी हुँदा किसानले लगाएको मकै बाली सुक्न थालेको छ । खडेरीकै कारण बल्लतल्ल पानीको जोहो गरेर खेतमा राखिएको ब्याडमा पनि धाँजा फाटेको छ ।

खडेरीका कारण मकैका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । दाङको घोराहीमा करिब तीन साताअघि लगाइएका मकै तरकारीका बेर्ना पानी नपर्दा बारीमै सुक्न थालेका छन् ।

खडेरीसँगै तापक्रम बढेपछि गोड्ने समय भएका मकैका बोट सुक्न थालेका छन् । बारीमा रोपिएका मकैका बोट सुक्ने र ओइलिने गर्दा आफूहरू चिन्तामा परेको घोराही उपमहानगरपालिका–१२, हापुर तुलसीगन्ज निवासी किसान बुद्धिराम शर्मा बताए । “रोपेको समय अनुसार आजभोलि मकै गोड्नुपर्ने हो तर खडेरीका कारण मकैका बोट सुक्न थालेका छन् । जसले गर्दा गोड्न सकेका छैनौँ” उनले भने ।

किसानहरुमा धानभन्दा मकै बाली राम्रो उत्पादन हुने भए पनि लामो खडेरीका कारण यस वर्ष मकै के हुने हो भन्ने चिन्ता थपिएको छ । उता खेतमा बल्लतल्ल राखेको धानको विउमा पनि पानीको अभावले धाँजा फाट्न थालेका छन् । “पानी आउने छाँट छैन अब विउ पनि सुकेरै खेर जाने त होला नि”, एक किसानले भने ।