काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा प्रणाली अवलम्बन गरेको छ । यो प्रणालीका कारण वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म सोधिने छैन ।

हाल परीक्षामा बर्सेनि जस्तो प्रश्न दोहोरिने गरेका छन् । तर अब त्यस्तो नहुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यो प्रणाली लागु भएुसँगै अब बजारमा पाइने गाइड, गेसपेपर, ओल्ड इज गोल्ड वा बजारमा पाइने सहयोगी परीक्षा सामग्री काम लाग्ने छैनन् । यो प्रणाली कक्षा ८, १० र १२ मा लागु भएको छ ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बजारमा पाइने पुराना प्रश्नपत्रको सँगालो सङ्कलन गर्ने र त्यसका आधारमा अभ्यास गरी कण्ठ गर्ने प्रवृत्तिलाई अन्त्य गर्न खोजिएको बताए । “एक पटक सोधिएको प्रश्नपत्र कम्तीमा पाँच वर्षसम्म दोहोरिने छैन,” उनले भने, “स्तरीकृत परीक्षा प्रणालीका कारण सिकाइ र बुझाइका आधारमा उत्तर लेख्नुपर्ने हुन्छ । घोकेर उत्तर दिने परम्परागत पद्धति अब काम लाग्दैन ।”

बोर्डले पहिलो चरणमा यस वर्षदेखि कक्षा १० (एसईई) को गणित, विज्ञान र अङ्ग्रेजीमा यो प्रणाली लागु गरेको छ । आगामी वर्ष अन्य कक्षामा लागु गरिने छ । बोर्डले यसका लागि प्रश्नपत्रका हजारौँ सेट तयार गरिरहेको छ । देशका सयौँ शिक्षकबाट ती प्रश्नपत्र तयार गरिएका हुन् । प्रश्नपत्रको परीक्षणसमेत गरिएको छ । तिनै सेटबाट पालिकादेखि बोर्डसम्मले प्रश्नपत्र तयार गर्नेछन् । प्रश्नपत्रको पहुँच सीमित व्यक्तिमा मात्र हुने हुँदा गोपनीयता कायम रहने दाबी बोर्डको छ ।