कालीकोट । कालीकोट जिल्लामा खाद्यान्न अभाव हुने देखिएको छ । सरकारले दिँदै आएको चामल अभाव हुँदा अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्मको गोदाम रित्तो हुन पुगेको छ ।

सरकारको फितलो तयारी र व्यवस्थाका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । कर्णालीलगायतका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन कठिन हुने गरेको छ ।

दैनिक २० क्विन्टलदेखि ३० क्विन्टलसम्म चामल बिक्री हुने कालीकोटमा तोकिएको समयमा चामल ढुवानी नहुँदा खाद्यान्नको चरम अभाव भएको कार्यालय जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कालीकोट शाखा प्रमुख कमलराल पाण्डेले नेपालगन्ज र बर्दियादेखि आउने चामल समयमै नआउँदा कालीकोट जिल्लामा खाद्यान्नको अभाव भएको बताउनुभयो । सुर्खेतबाट आउने चामल ठेकेदारले समयमै ल्याउन नसक्नु, नेपालगन्ज र बर्दियामा पनि चामल नहुँदा कालीकोटमा खाद्य अभाव भएको प्रमुख पाण्डेको भनाइ छ ।

कुनै बेला सरकारले अनुदानमा दिने खाद्य लुछाचुडी हुने भए पनि अन्य समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल कम बिक्री हुने गरेको थियो । पछिल्लो समयमा बजार मूल्य बढेका कारणले सरकारी अनुदानको चामल बढी बिक्री हुने गरेको छ । सरकारले तोकेको कोटाभित्रको नौ हजार क्विन्टल चामल खपत भइसकेको छ ।

कालीकोट डिपोले यस वर्षका लागि १२ हजार क्विन्टल चामल माग गरेको थियो । नौ हजार सकिएको र अब तीन हजार क्विन्टल चामल आउन बाँकी छ ।