काठमाडौँ । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई सचिवबाट निलम्बन गरेको छ । बुधबार एमालेले एक विज्ञप्ति जारी गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीलाई पार्टीबाट निलम्बन गरेको जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी अहिले फरार छन् । गत बिहीबार गृह जिल्ला अर्घाखाँचीको कार्यक्रममा सहभागी भएका रायमाझी त्यसपछि बेपत्ता भएका अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उनलाई प्रहरीले खोजी जारी राखेको छ ।

राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर एमाले पार्टीले केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यस सम्बन्धी अनुसन्धान र कानुनी कारवाहीको प्रक्रियाको अन्तिम टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको महासचिव शंखर पोखरेलद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ति उल्लेख छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने योजनाका मुख्य योजनाकारमध्ये एक भएको निष्कर्ष निकालेको छ । रायमाझीका छोरा सन्दीप गत बिहीबार रुपन्देहीमा पक्राउ परेका थिए ।