काठमाडौं । छिमेकी देश भारतमा फैलिएको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ नेपालमा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवान्सिक परिवर्तनको पहिचान गर्ने उद्येश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशभरबाट रेन्डम स्याम्पलिङ विधिबाट चैत महिनामा संकलित २४ वटा पिसिआर र एन्टीजेन पोजेटिभ नमुनामा परीक्षण गर्दा ओमिक्रोनको बिए १.१ दुई जनामा, बिए.२ दुई जनामा, बिए २.७६ एक जनामा, बिए.५ दुई जनामा, बिए ५.२ दुई जनामा, एक्बीबी १.१६ १० जनामा, एक्बीबी १.५ तीन जनामा, एक्बीबी २.६ एकजनामा र एक्बीएफ एक जनामा पुष्टि भएको छ ।

छिमेकी देशमा पनि उक्त भाइरस फैलिरहेको हुँदा मन्त्रालयले सिमाबाट आवतजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुहरुको सिमानाकाका हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मीबाट कोभिड–१९ परीक्षण गरी गराई नतिजा पोजेटिभ भएमा आवश्यक परामर्श सेवाका साथै थप निदान तथा उपचार गर्नुपरेमा नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि बढ्दै गएकोले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन संवेदनशिल हुन समेत मन्त्रालयले आग्रह गरेको छ ।