काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूलभूत रूपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन् ।

आज रिपोर्टस क्लब नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘‘अहिले नयाँ–नयाँ राजनीतिक समीकरण बनिरहेको छ । आजमात्रै सरकारलाई पूर्णता दिने क्रममा हामी मूलभूत रूपमा सरकार पूर्ण भएको छ, अब यसले गति लिनुपर्छ ।’’

उनले देश अहिले आर्थिक रूपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको तर आर्थिक रूपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको भए पनि श्रीलङ्का बन्ने स्थितिमा नरहेको दाबी गरे ।

प्रधानमन्त्रीले आफूले तेस्रो कार्यकालका रूपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताए । अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको समेत प्रचण्डको दावी थियो ।

‘‘अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको छ, करिब गुणात्मक, राजश्व सङ्कलनमा धेरै सुधार भएको छ करिब गुणात्मक, विदेशी मुद्रा सञ्चितामा त हामी निकै राम्रो स्थितिमा आइसकेका छौँ’ल ’ प्रधानमन्त्री प्रचण्डले भने ।