काठमाडौं । मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बसेको सत्तागठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँटको प्रस्ताव गरेका छन् । उनले गरेको प्रस्तावमा केही दलले चित्त नबुझाएकाले सहमति जुटाउन बुधबार बिहान पुनः बैठक बस्दै छ ।
बैठकमा प्रधानमन्त्रीले गठबन्धनको ठूलो दल कांग्रेसलाई आठ, माओवादीलाई पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन, एकीकृत समाजवादी र जसपालाई दुई–दुई मन्त्रालय रहने गरी प्रस्ताव गरेका छन् । यसबाहेक जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक–एक मन्त्री बनाउने प्रधानमन्त्रीको प्रस्तावमा छ ।
नेताहरूसँग छलफल गरेर मन्त्रालय बाँडफाँटको प्रस्ताव बनाउन गठबन्धनका नेताहरूले प्रधानमन्त्रीलाई जिम्मा दिएका थिए । त्यसपछि प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै दलका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेर मन्त्रालय बाँडफाँटसम्बन्धी प्रस्ताव तयार पारेका थिए ।
