दाङ । महेन्द्र बहुमुखी क्याम्पस भरतपुर दाङमा स्ववियु निर्वाचन चैत ८ गते हुने भएको छ । फर्जी परिचयपत्र तयार गरेको भन्दै विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) ले क्याम्पसमा तालाबन्दी गरेपछि चुनावको मिति सारिएको हो ।

महेन्द्र बहुमुखी क्याम्पस प्रशासनसँग भएको सहमति अनुसार आज चैत ५ गते तोकिएको निर्वाचन चैत ८ गतेका लागि सारिएको महेन्द्र बहुमुखी क्याम्पस जनाएको छ ।

त्यस्तै राप्ती बबई क्याम्पसमा नेपाल विद्यार्थी संघले ताला लगाएको छ । आज चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्वसन्ध्यामा नेविसंघले क्याम्पसमा ताला लगाएको हो ।

नेविसंघले विद्यार्थीहरुको फर्जी परिचयपत्र बनाएको आरोप लगाउँदै छानबिनको माग गर्दै नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त संगठनका उम्मेद्ववारहरुको संघ/संगठनको पहिचान खुलाएको मतपत्र तयार नपारुञ्जेलसम्म ताला यथावत रहने जनाएको छ । नेपाल विद्यार्थी संघले ताला लगाएपछि निर्वाचन स्थगित भएको जनाएको छ ।