सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको दाबी गरेकी छिन् ।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै सञ्चारमन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले आवश्यक कानुन निर्माणका लागि तत्काल संसदमा पेस गर्ने तयारी गरिरहेको बताएकी हुन् । उनले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न पनि निजी क्षेत्रलाई आह्वान गरिन् ।

मन्त्री शर्माले सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढंगले अघि बढाउन नसकेको स्वीकार गर्दै त्यस काममा सम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको उपयोग गर्न जरुरी रहेको बताइन् । मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई अघि बढाउन महत्वकांक्षी योजना अघि सारिने पनि बताइन् ।

मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा केही गरौँ भन्ने भावना साथ अघि बढ्नुपर्नेमा जोड दिइन् ।