दाङ, २० माघ। दाङमा झण्डै तीन करोडको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ का तुल्सीराम शर्माले घोराही उपमहानगरपालिका–१६, रावत गाउँमा साबुन उद्योग सञ्चालन गरेका हुन् ।
लामो समय वैदेशिक रोजगारीका क्रममा साउदी अरेयिबा र दुबईमा करिब सात वर्ष बिताएका शर्माले साबुन उद्योग सञ्चालनमा ल्याएका हुन् । मेलिना मल्टिपल प्रालिका नाममा स्थापना भएको सो उद्योगले ‘स्मृति’ ब्रान्डमा लुगा धुने साबुन बजारमा ल्याएको छ ।
अहिले उद्योगबाट कपडा धुने साबुन मात्रै उत्पादन भइरहे पनि आगामी दिनमा नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, भाँडा माझ्ने साबुनलगायतका सामान उत्पादन गर्ने उद्योगको लक्ष्य छ ।
यस अघि जिल्लाका विभिन्न ठाउँमा यस्ता उद्योगहरु स्थापना भएपनि अहिेले बन्द अवस्थामा छन् । साबुन बनाउने कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने र यस्ता सामग्रीहरु समयमा उपलव्ध गर्न असहज भएका कारण उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको उद्योग सञ्चालकहरु बताउछन् ।











