काठमाडौं, १८ माघ । उच्च अदालत पाटनको फैसलापछि २० लाख धरौटीमा रिहा भएका नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ ।
क्यानको पोखरामा हिजो बसेको बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । निलम्बन फुकुवाको एजेन्डा बैठकबाट पास भएको क्यान स्रोतले जनाएको छ । निलम्बन फुकुवाबारे क्यानले औपचारिक रुपमा धारणा सार्वजनिक गरेको छैन । निलम्बन फुकुवापछि उनलाई राष्ट्रिय टोलीमा समावेश गर्ने वा नगर्नेबारे स्पष्ट भइसकेको छैन ।
एक किशोरीमाथि बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई गएको भदौ २३ मा निलम्बन गरेको थियो । उच्च अदालत पाटनले काठमाण्डौ जिल्ला अदालतको आदेश बदर गरी पुस २९ मा २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै हिजो महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।











