काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाईप्रति आपत्ति जनाएका छन् ।उनले संसद्मा प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेलामा दिएको सम्बोधनमा ओलीको चर्को आलोचना गर्दै संसद् विघटनकारीकै चर्को स्वर रहेको टिप्पणी गरे । त्यस्तो सुन्दा अहिले पनि आफूलाई अचम्म लागेको नेपालको टिप्पणी थियो ।

“प्रचण्डलाई हामीले आशा अपेक्षा गरेका छौं, हामीले आशा र अपेक्षा गरेको व्यक्ति आएपछि आत्तिनुपर्दैन,” नेपालले भने, “संविधानप्रतिको प्रतिवद्धता छ कि छैन शंका त्यहाँ गर्नुपर्ने हुन्छ । यहाँ संसद् विघटन गर्न पाइन्छ भन्ने कुरा पनि सुनिए । यो मान्यता गठबन्धन दलको हो ? हो भने खतरनाक संकेत दिन्छ ।”

ओलीले संसारका जुनसुकै देशमा संसद् विघटन गर्न पाइने भन्दै आफूले पनि संसदीय व्यवस्थाको उपयोग गरेर विघटन गरेको भन्दै बचाउ गरेका थिए ।

“प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्नुपर्ने हतारो छ, हतार गरेर केही हुँदैन । प्रमुख प्रतिपक्ष दलले नै विश्वासको मत दिने भनेपछि अब झस्किनुपर्ने केही छैन । हामीले आशा गरेकै व्यक्ति प्रधानमन्त्री बनेपछि आत्तिनुपर्ने आवश्यकता छैन । तर ख्याल गर्नुपर्छ, संविधानप्रतिको प्रतिवद्धता छ कि छैन, शंका गर्नुपर्ने कुरा त्यहाँ छ । किनभने यही रोस्टममा मैले सुनेँ संसद् विघटन गर्न पाइन्छ । यो मान्यता यो गठबन्धनको हो भने खतरनाक संकेत हो ।

जसरी प्रतिनिधिसभालाई बीचमै विघटन गरियो । के यो ब्रिटेन हो, भारत हो, पुरानो नेपाल हो ? गिरिजाप्रसाद कोइराला नेतृत्वको २०५१ सालको सरकार हो ?  २०५८ सालको शेरबहादुर देउवा नेतृत्वको सरकार हो ? होइन, ख्याल के होस् भन्दा राणाकालमा पनि २००५ सालमा, २००७, २०१९, २०४७ सालमा संविधान बन्यो, २०४७ मा त म आफैँ संलग्न छु । विगतका त्रुटि नहो¥याउने प्रतिवद्धता गरेका छौँ ।

हेक्का रहोस्, प्रधानमन्त्रीले जथाभावी प्रतिनिधि सभा विघटन गर्न पाउँदैनन् ख्याल होस् । गठबन्धनले आत्मालोचना, महसुस गरेको होला भनेको त यहाँ गर्जिएको देख्दा अचम्म लाग्यो, हिजै जवाफ दिने पक्षमा थिएँ, पहिलो दिन के भन्नु भनेको त कुरा अझै आत्मालोचना छैन । यस्तो गोलचक्करमा नफस्नुस् । संविधानले आफूखुसी संसद् विघटन गर्ने अधिकार दिएको छैन ।”

प्रधानमन्त्रीले जथाभावी संसद् विघटन गर्न नपाउने बताउँदै नेता नेपालले भने, “आत्मालोचना होला भनेको त यहाँ गर्जेको देख्दा अचम्म लाग्यो ।”

उनले आफूहरुले पनि संसारको संविधान पढेको भन्दै नपढाउन ओलीलाई सुझाव दिए ।“संसार हामीले पनि जानेका छौँ । विश्वका संविधान हामीले पनि पढेका छौँ । सबै पढिएको छ । त्यही बेलामा जापानको अनुभव पनि पढेका छौँ । विघटन गर्ने कुरा गलत थियो । त्यसैलाई प्रतिगामी कदम भनेका हौँ,” नेपालले भने । –aveneus khabar