काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग धेरै चुनौती रहेको बताएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीलाई विश्वासको मतको समस्या नभएपनि सरकारसँग भने धेरै चूनौती रहेको बताएका हुन् । उनले अर्थतन्त्रलाई मजबुद बनाउने, राष्ट्रियतालाई बलियो बनाउने देखि सुशासन कायम गर्ने, भ्रष्टाचार रोक्ने लगाएतका चूनौती सरकार सामू रहेको बताए ।

उनले अब सबैले आफ्नो कार्यभार देश र जनताकै लागि उपयोग गर्नुपर्नेमा जोड दिए । ओलीले अब पनि सरकार ढलाउने बनाउने खेलमा लागे समयको बर्वादी हुने र देशका लागि काम गर्न नसकिने धारणा पनि राखे।

उनले व्यक्तिको मान सम्मानका लागि नभई देशमा उन्नति गर्नका लागि सरकार बनाउनुपर्ने पनि बताए । संसद्मा नयाँ दल र नयाँ सांसदहरूको उपस्थिति नै जनताको परिवर्तनको आकांक्षा भएको उनको भनाइ छ ।

ओलीले नयाँ जनादेश माग्न जानु प्रतिगमन नभएको र अन्यत्रबाट सरकार ढाल्न खोज्नु प्रतिगमन भएको तर्क गरे । त्यस्तै ओलीले यसपटक सफल सांसद भएर देखाउनुपर्ने जिकिर गरे ।