घोराही । थारु कल्याणकारिणीसभाको आयोजनामा शुरु भएको दुईदिने माघ सांस्कृतिक महोत्सव २०७९ शनिबार समापन गरिएको छ ।
थारु संस्कृति, भेषभूषा झल्किने नाच तथा थारु परिकारको प्रदर्शनी गरिएको माघ महोत्सवमा थारु तथा गैरथारु समुदायका व्यक्तिहरुले दुईदिन अवलोकन गरेका थिए । शनिबार महोत्सव समापन गर्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारु समुदाय कला, संस्कृति र श्रमका धनी भए पनि यसको व्यवसायीकरण गर्न नसकेर पछि परेको बताउनुभयो ।
थरीथरीका थारु परिकार, नाच र संस्कार देखाएरै आम्दानी गर्न सकिने भन्दै प्रमुख चौधरीले थारुहरुलाई व्यावसायिक हुन सुझाव दिनुभयो । थारु भाषा, संस्कृतिको संरक्षणमा घोराही उपमहानगरले भूमिका खेल्ने भन्दै लगत्तै थारु भाषामै पठन पाठनको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै थारु कल्याणकारिणीसभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीले दासताबाट मुक्ति पाएको पर्वको रुपमा माघीलाई उत्सवका रुपमा मनाइने बताउनुभयो । माघीमा कमैया कम्लहरको मोलमोलाई हुने अवस्थाबाट छुटकारा पाइसकिएको भन्दै अब नयाँ पुस्तालाई आफ्नो कला, संस्कृति र भाषा संरक्षणमा ध्यान दिन सुझाव दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि डा. जर्मन चौधरी, उप प्राध्यापक सुन्दर गौतमलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा थारु भेषभूषा, नृत्य प्रस्तुत गर्ने टोल विकास संस्था, क्लव, समूहलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नवीन चौधरीले गर्नुभएको थियो ।











