काठमाडौं, २२ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादबारेको मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा भएको सुनुवाइ सकिएको छ।
कामु प्रधानन्यायायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले उनीविरूद्ध परेका मुद्दाको सुनुवाइ गरेको हो। दुबै पक्षका वकिलहरूको बहस सुनेपछि निर्णय गर्न अहिले न्यायाधीशहरू छलफलमा जुटेका छन्। रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे इजलासले आजै आफ्नो निर्णय सुनाउने बताइएको छ।
रिट निवेदकका तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारी, रमण कर्णलगायतले बहस गरेका थिए। उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको मुद्दामा अदालतले अन्तरिम आदेश दियो भने उनीको संसद पदसमेत जाने छ ।











